काठमाडौं । वायु प्रदूषणले मानव स्वास्थ्यमा पार्ने असरबारे जनचेतना जगाउन स्वास्थ्य मन्त्रालयले राखेको एइपीए फिल्टरबाट बनेको जोडी कृत्रिम फोक्सो १५ दिनमै कालो भएको छ ।
स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले काठमाडौँ उपत्यकामा उच्च स्तरको प्रदूषणको कारणले मन्त्रालयको मूलद्धारमा राखिएको एक जोडी कृत्रिम फोक्सो १५ दिनमै कालो भएको बताए ।
विश्व स्वास्थ्य दिवसको अवसर पारी २०७९ चैत्र २४ (२०२३ अप्रिल ७) मा मन्त्रालयको मूल ढोकामा फोक्सो जडान गरिएको थियो । कृत्रिम फोक्सोको अवस्थाबाट वायु प्रदूषणबाट मानव स्वास्थ्यमा पार्ने गम्भीर असरलाई बुझ्न सहज भएको प्रवक्ता अधिकारीको भनाइ छ ।
‘छोटो अवधिमै फोक्सो कालो भएपछि मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा जडान गरिएको उक्त कृत्रिम फोक्सो पृथ्वी दिवसको अवसरमा त्यहाँबाट सारेर यो पन्ध्र दिनमा आएको परिवर्तनलाई तस्विरका माध्यमले बुझाउन विभिन्न स्थानमा जनचेतनामूलक अभियानका लागि प्रयोगमा ल्याउने योजना बनाएको छ’, प्रवक्ता अधिकारीले शुक्रवार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

