एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपर न्युकासल युनाईटेडसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा टोटनह्याम न्युकासलसँग ६–१ ले पराजित भएको हो ।
खेलको दोस्रो मिनेटमा जाकोब मुर्फेले गोल गर्दै न्युकासललाई सुरूवाती अग्रता दिलाएका थिए । छैटौं मिनेटमा जोएलिन्टनले गोल गर्दै न्युकासललाई दोब्बर अग्रता दिलाए । नवौं मिनेटमा जाकोबले व्यक्तिगत दोस्रो गोल गर्दै न्युकासललाई तेब्बर अग्रता दिलाए । १९ औं मिनेटमा अलेक्जेण्डर इसाकले गोल गर्दै न्युकासललाई ४–० को अग्रता दिलाए । २१ औं मिनेटमा इसाकले व्यक्तिगत दोस्रो गोल गर्दै न्युकासललाई ५–० को अग्रता दिलाए ।
त्यसैगरी, ४९ औं मिनेटमा ह्यारी केनले गोल गर्दै टोटनह्यामलाई ५–१ को स्थितिमा ल्याए । त्यसपछि ६७ औं मिनेटमा कलुम विल्सनले गोल गर्दै न्युकासललाई ६–१ को जित दिलाए ।
जितसँगै न्युकासल युनाइटेड ३१ खेलबाट ५९ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिन सफल भयो । समान ५९ अंक जोडेको म्यानचेस्टर युनाइटेड गोल अन्तरको आधारमा चौथो स्थानमा झर्दा ५३ अंक जोडेको टोटनह्याम हट्सपर पाँचौ स्थानमै समेटियो । यो हारसँगै टोटनह्यामको भने शिर्ष चारभित्र पर्दै अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना कमजोर बनेको छ ।
आइतबार राति भएको प्रिमियर लिगकै अर्को खेलमा वेस्ट ह्याम युनाइटेडले बर्नमाउथलाई ४–० ले हरायो । प्रिमियर लिगमा ३२ खेलबाट ७५ अंक जोडेको आर्सनल शिर्ष स्थानमा रहँदा ३० खेलबाट ७० अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहेको छ ।