काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछिको उद्धार, राहत र पुनः स्थापनामा आर्थिक, भौतिक सहयोग एवम् सद्भाव व्यक्त गर्ने सबैप्रति सम्मान व्यक्त गरेका छन्।
गोरखा भूकम्पको स्मृतिका अवसरका आज सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले पुनः निर्माणका मूलभूत काम सम्पन्न भइसके पनि अझै केही काम बाँकी भए त्यसका लागि सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताएका छन्।
प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘यस अवधिमा बाँकी रहेका कामहरू सम्पन्न गर्ने कुरा सरकारको प्राथमिकतामा राखेको छु। सरकारको प्राथमिकतामा सदाझैँ सम्पूर्ण नेपालीको साथ र सहयोग रहने विश्वास व्यक्त गर्दछु।’
विसं २०७२ वैशाख १२ गते गएको भूकम्पमा परी ज्यान गुमाएका नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति उनले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्। यस्तै, मृतकका आफन्तप्रति गहिरो समवेदना प्रकट गरेका छन्। भूकम्पका कारण घाइते एवं अङ्गभङ्ग भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्य लाभसहित दीर्घायुको कामनासमेत प्रधानमन्त्री प्रचण्डले गरेका छन्।

