काठमाडौं। नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले दलहरूलाई रूपान्तरित हुन सन्देश दिएको बताएका छन्। सामाजिक सञ्जालमार्फत उपनिर्वाचनका विजयी उम्मेदवारलाई बधाई तथा शुभकामना दिँदै उनले यस्तो बताएका हुन्।
गत १० गते चितवन-२ तनहुँ-१ र बारा-२ मा उपनिर्वाचन भएको थियो। प्रमुख दलको प्रभाव क्षेत्रका रुपमा लिइने चितवन- २ र तनहुँ-१ मा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्। प्रमुख दलको प्रभाव क्षेत्रमा नयाँ दलका उम्मेदवारहरूले फराकिलो मतान्तरका साथ विजयी हासिल गरेपछि काँग्रेस महामन्त्री शर्माले उपनिर्वाचनको परिणाम आफूहरूका लागि रूपान्तरितको सन्देश भएको प्रतिक्रिया दिएका छन्।
उनले भनेका छन्, ‘परिणामले हामीलाई रूपान्तरित हुन सन्देश दिएको छ। देशको समय बदल्न नेतृत्व गरेको दलले बदलिएको समय अनुरूप आफूलाई बदल्नु छ। नवीन अभियानमा, नयाँ ढंगले जुट्नेछौं। हामी आदरणीय मतदाताको प्रत्येक मतलाई सम्मान छ। जय नेपाल !’
उपनिर्वाचनको लागि नेपाली काँग्रेसले चितवन-२ र तनहुँ-१ मा महामन्त्रीद्वयलाई चुनावी कमाण्डरका रुपमा खटाएको थियो। शर्मा चितवन- २ र अर्का महामन्त्री गगन थापा तनहुँ-१ मा चुनावी कमाण्ड सम्हाल्न पुगेका थिए। तर, दुवै स्थानमा रास्वपाका उम्मेदवारसँग काँग्रेसका उम्मेदवार फराकिलो मतान्तरले पराजित भएका थिए।

