महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको पश्चिमी नाका गड्डाचौकीबाट ठूला सवारी साधनलाई निर्बाध सञ्चालनमा असहज हुँदा यहाँको भन्सार कार्यालयबाट राजस्व सङ्कलनमा असर पर्दै आएको छ ।
महाकाली नदीमा अवस्थित बनबासा पुल ९शारदा ब्यारेज०बाट दैनिक सात घण्टामात्र भारतीय पक्षले सवारीसाधन सञ्चालन अनुमति दिने गरेको छ तर पुलको क्षमताको कारण देखाउँदै ठूला सवारीसाधनलाई सहज रुपमा आवत–जावत गर्न नदिँदा साना ट्रक, मोटरसाइकल एवं साइकलको क्यारियरमा सामान आयात गर्नुपर्ने बाध्यता छ ।
उद्योग वाणिज्य सङ्घलगायत यहाँका निजी क्षेत्रको लामो दबाब र पहलपछि बनबासा पुल केही वर्षयता दैनिक सात घण्टा खुल्न थालेको हो । यहाँबाट भारतका विभिन्न सहरबाट सामान आयात गर्न पुल नै बाधक बन्दा कञ्चनपुर भन्सार कार्यालयको राजस्व सङ्कलनमा असर पर्दै आएको छ ।
कैलालीको त्रिनगर भन्सारबाट दैनिक ठूला सवारी साधनमा सामान आयात भइरहँदा गड्डाचौकी भन्सारबाट भने साइकलको सहारामा सामान आयात हुँदै आएको छ । “पुलमा मात्रै आवागमनका लागि समयसीमा हटाएको भए राजस्व वृद्धिका साथै कञ्चनपुरमा आर्थिक गतिविधि बढ्ने थियो,” कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले भने, “अब महाकालीमा चार लेनको पक्की पुल बनेर उक्त नाका चालु भएपछि यहाँको आर्थिक गतिविधि सुदूरपश्चिमकै उच्च हुनेमा आशावादी छौँ ।”
दोधारा चादँनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण भए यो नाका मुलुककै आर्थिक नाकाका रूपमा विकास हुने बताउँदै उनले उद्योग वाणिज्य सङ्घकै पहलमा चार वर्षअघिसम्म दैनिक चार घण्टा मात्रै खुल्ने पुलको समायवधि सात घण्टा पुर्याइएको जानकारी दिए ।

