काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकासको मोडेलबारे पुनर्विचार गर्नुपर्ने बेला आएको बताएका छन्। कान्तिपुर इकोनोमिक समिट- २०२३ मा उनले कतिपय महत्त्वपूर्ण क्षेत्रमा उपलब्धि हासिल भएपनि त्यसले उत्पादन र रोजगारीको क्षेत्रमा प्रगति गर्न नसकेको बताए। हालसम्मका नीति तथा कार्यक्रमहरूले समाजवाद उन्मुख आर्थिक प्रणाली विकाश गर्न नसकेको उनको भनाई छ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले हाम्रो विकास मोडेलबारे पुनर्विचार गर्न आवश्यक छ। हालसम्मका योजनावद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैंगिक समानता, समावेशिता जस्ता क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भए तापनि उत्पादन र रोजगारीको क्षेत्रमा हाम्रो प्रगति उत्साहजनक छैन। संविधानले समाजवाद उन्मुख आर्थिक प्रणालीको निर्माण गर्ने संकल्प गरेतापनि हाम्रा हालसम्मका नीति तथा कार्यक्रमहरू त्यसतर्फ लक्षित हुन सकेका छैनन्।’
उनले अगाडि थपे, ‘यातायात, उर्जा र सञ्चार जस्ता पूर्वाधारको व्यवस्थाबाट विकासको ढोका खुल्ने, त्यस्ता सुविधा पुगेका ठाउँमा उद्योगहरू खुल्ने, कृषिको आधुनिकीकरण हुने र त्यसबाट समग्र उत्पादन तथा रोजगारी बढ्ने विश्वास गरिन्छ। तर हामीले यस्ता पूर्वाधार पुर्याएका गाउँहरू बसाइसराइका कारण रित्तिँदै गएको, पहिले खेती गरिएको जमिन बाँझो हुँदै गएको र दैनिक रूपमा ठूलो संख्यामा युवाहरू विदेसिने क्रम कायमै छ। यस्तो अवस्थामा परिवर्तन ल्याउन टालटुले नीति, योजना र कार्यक्रमबाट सम्भव हुँदैन, त्यसका लागि गुणात्मक क्रमभंग अपरिहार्य हुन्छ।’

