विद्यालयमा दल तथा भातृ संगठनका कार्यक्रम नगर्न काठमाडौं महानगरको निर्देशन

काठमाडौं। काठमाडौं महानगरपालिकाले महानगर भित्रका केही विद्यालयमा राजनीतिक दल तथा तीनका भातृ संगठनका कार्यक्रम सञ्चालन भएकामा ध्यानाकर्षण भएको जनाएको छ। प्रचलित शिक्षा ऐन तथा नियमावली विपरीत राजनीतिक दल र भातृ संगठनका कार्यक्रम गरिएको प्रमाणसहितको उजुरी कामपा शिक्षा विभागमा आएकाले अब उप्रान्त त्यस्ता कार्यक्रम नगर्न निर्देशन पनि दिइएको छ।

कामपा शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार उजुरीको आधारमा सम्बद्ध विद्यालयमा अनुगमन गर्ने र त्यस्ता कार्यक्रम गरेको पाइए सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई विभागीय कारबाहीसमेत गर्ने तयारी कामपाको छ।

यसैगरी यसै शैक्षिक सत्रदेखि सबै सामुदायिक विद्यालयमा ‘बुक फ्री फ्राइडे’ कार्यक्रम सुरु गर्न लागिएको छ। सो बमोजिम अब विद्यार्थीले प्रत्येक शुक्रबार किताब नबोकी नियमित समयमै विद्यालय जान्छन् र अन्य अतिरिक्त क्रियाकलाप गरेर वा व्यवहारिक ज्ञान लिएर घर फर्कन्छन्। प्रत्येक सामुदायिक विद्यालयले उक्त कार्यक्रम अनिवार्य लागू गर्नुपर्ने छ। अहिले विद्यालयमा धमाधम भर्ना अभियान सञ्चालन भइरहेको छ भने केही विद्यालयमा पठनपाठनसमेत सुरु भइसकेको छ।

उक्त कार्यक्रम सञ्चालनका लागि कामपाको प्रत्येक सामुदायिक विद्यालयलाई पत्राचार गर्नाका साथै प्रधानाध्यापकसँग छलफल पनि भइसकेको छ। सबै शुक्रबार किताबको ज्ञानभन्दा केही फरक कार्यक्रम गर्न लागिएको र यो विद्यार्थीको लागि जीवनोपयोगी शिक्षा हुने अधिकारी कोइरालाको भनाइ थियो। उक्त कार्यका लागि कामपाले प्रत्येक माध्यमिक विद्यालयलाई एक लाखका दरले बजेट वितरण गरिसकेको र आगामी वर्ष बढाएर कम्तीमा दुई लाख बजाउने तयारी छ।

उक्त कार्यक्रम यस वर्ष सामुदायिक विद्यालयमा र आगामी वर्षदेखि निजी विद्यालयमा पनि विस्तार गरिने छ। हाल कामपामा ८९ सामुदायिक विद्यालय रहेकामा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय छन्। ती विद्यालयमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन्। त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन्।

यसरी गरिने अतिरिक्त क्रियाकलाप (हाजिरी जवाफ, कविता लेखन र वाचन, निबन्ध लेखन र वाचनलगायत समूहगत छलफल) मध्याह्नपछि खेल्दै रमाउँदै कार्यक्रम सञ्चालन गरिने छ। उक्त कार्यक्रम कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीका लागि हो।

प्रतिक्रिया

सम्बन्धित खवर