काठमाडौं । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सले पन्जाब किंग्सलाई हराएको छ । पन्जाबको घरेलु बिन्द्रा क्रिकेट स्टेडियम मोहालीमा शुक्रबार भएको खेलमा लखनउले पन्जाबलाई ५६ रनले हराएको हो ।
जितका लागि २ सय ५८ रनको लक्ष्य पछ्याएको पन्जाबले १९ दशमलब ५ ओभरमा अलआउट हुँदै २ सय १ रन मात्र बनायो । पन्जाबका लागि अथर्व ताईडेले ६६, सिकन्दर राजाले ३६, जितेश शर्माले २४, लियम लिविङ्स्टोनले २३ तथा साम करनले २१ रन बनाए ।
लखनउका लागि यश ठाकुरले ४, नभिन उन हकले ३, रवि बिश्नोईले २ तथा मार्कस स्टोईनिसले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो ।
लखनउका लागि मार्कस स्टोईनेसले ७२, कायल मेयर्सले ५४, निकोलस पुरनले ४५, आयुष बदोनीले ४३ तथा दिपक हुडाले अविजित ११ रन बनाए ।
पन्जाबका लागि कागिसो रबाडाले २ तथा अर्शदिप सिंह, लियम लिभिङ्स्टोन र साम करनले समान १/१ विकेट लिए ।
जितसँगै लखनउ दोस्रो स्थानमा उक्लिएको छ । लखनउको ८ खेलबाट १० अंक रहेको छ । पन्जाब ८ अंकका साथ छैटौं स्थानमा कायमै रहेको छ ।