काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन्। भारतको अल इन्डिया इन्टिच्युट अफ मेडिकल साइन्समा उपचाररत राष्ट्रपति पौडेले आज डिस्चार्ज हुने भएका छन्।
डिस्चार्ज भएपछि राष्ट्रपति पौडेल आइतबार नै स्वदेश फिर्ता हुने राष्ट्रपति कार्यालयले जनाएको छ। उपचार गराएर राष्ट्रपति पौडेल भारतबाट आइतबार बेलुकी ८:३० बजे स्वदेश फर्किने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
राष्ट्रपति पौडेल नेपाल एयरलाइन्सको नियमित उडानबाट आज स्वदेश फर्कने राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको छ।
राष्ट्रपति पौडेलको छातीमा पानी जम्ने समस्या देखिएको र त्यसको उपचार काठमाडौंको शिक्षण अस्पतालमा हुँदै आएको थियो। राष्ट्रपति पौडेललाई वैशाख ६ गते उपचारका लागि भारत ल्याइएको थियो।
गत बुधबार बिहान नयाँ दिल्लीस्थित विमानस्थलमा अवतरण गरे लगत्तै भारतका लागि नेपाली राजदूत शंकर शर्मा र भारतीय विदेश मन्त्रालयको नर्थ डिभिजन प्रमुख अनुराग श्रीवास्तवले रिसिभ गरेका थिए। उनलाई उच्च सुरक्षासहित एम्स पुर्याइएको थियो।

