यसरी गरिएको थियो निरा पाण्डेको हत्या

काठमाडौं। प्रहरीले काठमाडौंको कपन सरस्वतिनगरस्थित भाँडा पसल गर्ने निरा पाण्डे आचार्यको हत्यामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ। प्रहरीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हत्याका आरोपी विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो।

शनिबार बेलुका झापाबाट पक्राउ परेका विश्वकर्माले निरा पाण्डेको हत्या चोरी गर्ने उद्देश्यले गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले दाबी गरेको छ। घटनाको दिन उनी लोकन्थलीबाट सात बजे बस चढेर केएल टावर पुगेको र त्यहाँबाट निरा पाण्डेको पसलमा पुगेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसएसपी दिनेश आचार्यले जानकारी दिए। लुटिएको सिक्री तारकेश्वर नगरपालिकास्थित पाथीभरा सुनचाँदी पसलमा बेचेको पाइएको उनले बताए।

उनले हत्याका बेला लगाएका कपडा, झोला र जुत्तालगायत सामाग्रीहरु समेत भेटिएको जानकारी दिए। ‘घटनामा लगाएको कपडा ब्याग र जुत्ता बरामद भएको छ। साथीको कोठाबाट रगत लागेको कालो टिसर्ट पनि बरामद भइसकेको छ,’ आचार्यले भने, ‘लुटेको सुनको सिक्री तारकेश्वरस्थित पाथीभरा सुनचाँदी पसलमा ५५ हजारमा बेचेका रहेछन्। हामीले बरामद गरेका छौं।’

आचार्यका अनुसार विश्वकर्मा सुरुमा भाँडा किन्ने बाहनामा पसलमा छिरेका थिए। सामान हेरिसकेपछि उनी पैसा लिन नजिकैको एटिएम काउन्टर गएका थिए। फर्केर फेरि निरासँग सामान खरिद गर्नेबारे छलफल गरेका थिए। निराले भाँडा देखाउने क्रममा उनलाई पछाडिबाट छुरा प्रहार गरी ढालेको र उनको हत्या गरेका थिए। निराकै पसलमा रहेको चक्कु प्रयोग गरेर उनीमाथि प्रहार गरेका थिए। हत्यापछि विश्वकर्माले निराले लगाएको सिक्री र काउन्टरमा रहेको केही पैसा लिएर निस्केका थिए। त्यसपछि उनी फेरि लोकन्थलीस्थित साथीको कोठामा गएका थिए।

कपनस्थित सरस्वती नगरमा भाँडा पसल चलाउँदै आएकी निराको गत वैशाख ७ गते हत्या भएको थियो। प्रहरी प्रधान कार्यालयले घटना अनुसन्धान गर्न प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको संयोजकत्वमा आठ सदस्यीय अनुसन्धान टोली गठन गरिएको थियो। अनुसन्धान टोलीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सहकार्यमा शनिबार राति झापाबाट विश्वकर्मालाई पक्राउ गरेको थियो। उनीले यसअघि काठमाडौंको एक रेस्टुरेन्टमा बाउन्सरकोरुपमा काम गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर