दार्चुला हिम पहिरोमा हराएका तीन जनाको शव भेटियो

महेन्द्रनगर। दार्चुलाको व्यास गाउँपालिका-१ मा आज हिम पहिरोमा परी सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ। मंगलबारदेखि हिम पहिरोमा परी सम्पर्कविहीन रहेका यार्सा संकलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँच जना सम्पर्कविहीन थिए।

दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले केहीबेर अघि बेपत्ता भएको ठाउँबाट करिब अढाई किलोमिटर तल हिउँभन्दा बाहिर मृतावस्थामा तीन शव भेटिएको जानकारी दिए। ‘शव भेटिएपछि स्थानीय, नेपाल प्रहरी र हाम्रो टोली घटनास्थल पुगिसकेको छ,’ उनले भने, ‘शव भेटिए पनि पहिचान भने खुलिसकेको छैन।’

मंगलबार दिउँसोबाट सशस्त्रको टोली उद्धार तथा खोजीमा खटिएको भए पनि लगातारको हिमपात र वर्षाका कारण कठिनाइ भइरहेको थियो। ‘हिजो पनि राति ९.३० बजेसम्म खोजीमा जुट्यौं,’ उनले भने, ‘आज पनि बिहानबाट टोली खटिएको छ।’ उनका अनुसार सो क्षेत्रमा यार्सा संकलकहरु त्रिपालमा बसिरहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर