काठमाडौं। नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट बुधबार उनीविरुद्ध पक्राउ पुर्जी लिएको हो।
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणमा मुछिएका रायमाझीलाई अनुसन्धानका लागि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएको छ। सोही प्रकरणमा रायमाझीका छोरा सन्दीप रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। प्रहरीले अनुसन्धानका लागि रायमाझीका बाबुछोरालाई पक्राउ गर्ने तयारी गरेको छ।
यसअघि बुधबार काठमाडौं प्रहरी परिसरबाट खटिएको प्रहरीको टोलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे पक्राउ परेका छन्। उपराष्ट्रपति कार्यालयमा कार्यरत रहेका सचिव पाण्डेलाई प्रहरीले पेप्सीकोलाबाट पक्राउ गरेको हो।
सोमबार काठमाडौं प्रहरीले पूर्वगृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको थियो। सुरक्षा सल्लाहकार हुँदा नै भुटानी शरणार्थीका नाममा नक्कली परिचयपत्र बनाउन शंकास्पद भूमिका देखिएपछि राई पक्राउ परेका हुन्।

