काठमाडौं। नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा संलग्नता रहेको भनिएका प्रतिक थापाले उक्त प्रकरणमा नाम जोडिएपछि त्यसको खण्डन गरेका छन्। उनले नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा आफ्नो संलग्नता नरहेको दाबी पनि गरे। उनले प्रेस वक्तव्य जारी गरेर संवेदनशील विषय भएकोले छानबिनमा सहयोग गर्ने बताएका छन्।
उनी नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा हुन्। ‘मेरो संलग्नता नरहेको शरणार्थी प्रकरणमा झूटो आरोपसहित मेरो नाम जोडिएकोप्रति खेद प्रकट गर्ने खण्डन गर्छु,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘आरोप लगाइएका विषयमा सम्बन्धित निकाय न्यायालयप्रतिको आस्था र सम्मानस्वरूप अनुसन्धान इमानदारपूर्वक सहयोग गर्ने प्रतिबद्धतना व्यक्त गर्दछु।’
प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। आफ्नाविरूद्ध गलत अभिप्रायका साथ तथ्यहीन प्रचार र आरोपहरू लगाउने क्रम जारी रहेको भन्दै उनले आपत्ति जनाए। राजनीतिक प्रतिशोधले आफू विरुद्ध आरोप लगाइएको उनको भनाइ छ। आफूले गृह मन्त्रालयको जिम्मेवारीमा भएजस्तो भाषा प्रयोग गर्दै थापाले भनेका छन्, ‘हामीले गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दा जनताका लागि सधैँ न्यायको पक्षमा काम गरेका छौं। जनसरोकारको विषयमा कोही कसैसँग सम्झौता नगरी उच्च प्राथमिकताका साथ कटिबद्ध भएर काम गरेका छौं।’


