काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फरार रहेका सचिव टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको बताएका छन्। शनिबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच एक घण्टा बढी लामो छलफलपछि पत्रकारले सोधेको प्रश्नमा उनले रायमाझी आफ्नो सम्पर्कमा नभएको बताएका हुन्।
‘पूर्वमन्त्री, उपप्रधानमन्त्री भइसकेको मान्छे त्यसरी हराउँछन् र भन्नुभएको थियो। अहिले त हराइराखेका छन्। कहाँ बस्नुभएको छ उहाँ?,’ अध्यक्ष ओलीलाई एक पत्रकारले प्रश्न सोधेका थिए। त्यसको जवाफमा उनले भने, ‘तपाईंहरूले खोज्नुस् न। मेरो सम्पर्कमा हुनुहुन्न।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उनी हालसम्म फरार रहेका छन्। प्रहरीले यस घटनामा ९ जनालाई पक्राउ गरिसकेको छ।

