हामी वर्तमान सरकारकै निरन्तरताको पक्षमा छौँ : उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा रहेको बताएका छन्।

उनले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको पनि हित नहुने जिकिर समेत गरे। रफ्त सञ्चार क्लबले शनिबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकारले सुशासन, विकास र समृद्धिको मुख्य अभिभारालाई पूरा गर्दै लैजानुपर्ने आवश्यक्ता पनि औंल्याए।

उनले कम्फर्टेबल मेजरिटी भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिए पनि सरकारलाई फरक नपर्ने तर्क गरे। अध्यक्ष यादवले सरकार परिवर्तन गरिराख्ने कुरा गलत भएको समेत बताए। राजनीतिक स्थिरताका साथ मुलुकलाई अघि बढाउन आफूहरूले वर्तमान सत्तारुढ गठबन्धन निर्माणमा योगदान गरेको उनको भनाइ थियो।

अध्यक्ष यादवले भने, ‘शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा परिवर्तन गरी अगाडि बढाउने मुख्य अभिभारा सरकारको हो। त्यसका लागि सरकारको स्थिरता आवश्यक छ। दिनैपिच्छे सरकार परिवर्तन गरिराख्नु गलत हो। गल्ती सच्याएर अघि बढ्ने वेला हो। सरकार स्थिर भएर काम गर्नुपर्छ। जनतालाई सेवा दिनुपर्छ।’

अध्यक्ष यादवले मुलुकलाई संकटबाट जोगाउन वित्तीय नीतिमै परिवर्तन गरेर अघि बढ्न पनि सरकारलाई सुझाव दिए। थुप्रिएर रहेको पुँजी उत्पादनमूलक क्षेत्रमा परिचालन गरेर मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकिने उनको बुझाइ थियो।

प्रतिक्रिया

सम्बन्धित खवर