भ्रष्टाचारका फाइल खुल्नथालेपछि रास्वपाले समर्थन फिर्ता लिएको महराको भनाइ

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई पनि कारबाही हुनुपर्ने धारणा राखेका छन्। ‘नक्कली शरणार्थी बनाउने जस्तो गम्भीर अपराध कार्यमा संलग्न कसैलाई पनि सरकारले छोड्नु हुँदैन। यो गम्भीर अपराध हो, गठबन्धनभित्र र बाहिर जोसुकैलाई पनि कारबाही हुन्छ,’ उनले भने।

संवाद डबलीले शनिबार आयोजना गरेको कार्यक्रममा महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिएपनि सरकारसँग स्पष्ट बहुमत हरेको बताएका छन्। सरकारले विश्वासको मत लिनुपर्ने अवस्था आएपनि स्पष्ट बहुमत पुग्ने बताए।

‘राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गरिसकेको छ। तर औपचारिक रुपमा सरकारलाई जानकारी दिएको छैन। निर्णय गरेपछि औपचारिक रुपमा जानकारी गराउँछ होला नै। सरकारसँग स्पष्ट बहुमत छ। रास्वपाले फिर्ता लिँदैमा सरकारमाथि प्रश्न उठ्ने अवस्था छैन,’ महराले भने।

रविले भ्रष्टाचारविरुद्धका फाइल खोल्ने भएपछि मात्रै सरकारमा सहभागी हुने भन्दै आएको तर सरकार त्यसमा अघि बढेको बेला समर्थन फिर्ता लिएको उनले बताए। माओवादी केन्द्रका प्रवक्तासमेत रहेका महराले सरकार जनतासँग गरेको प्रतिवद्धता अनुरूप अघि बढिरहेको बताए। उनले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई कानुनको दायरामा ल्याउन, मिटरब्याज पीडितलाई न्याय दिने कुरामा अडिग रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर