काठमाडौं। आज सोमबार संवैधानिक परिषदको बैठक बस्ने भएको छ। प्रधानन्यायाधीश नियुक्ति टुंगो लगाउन बैठक सोमबार साँझ ६ बजे सिंहदरबारमा बस्न लागेको हो।
आजको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल हुने जनाइएको छ। विगत १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन। प्रधानन्यायाधीश नियुक्ति हुन नसकेकै कारण नेपाल बार एशोसिएसनले आन्दोलन गर्दै आइरहेको छ।
गत शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल भएको थियो। दुई नेताबीच प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने सहमतिपछि परिषदको बैठक सोमबार बोलाउने सहमति भएको थियो।
सोही सहमति अनुसार शनिबार नै परिषद बैठकका लागि सदस्यहरूलाई पत्राचार गरिएको थियो। लामो समयदेखि प्रधानन्यायाधीश हरिकृष्ण कार्की कामुको रूपमा रहेका छन्।

