काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज सोमबार पनि बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्न लागेको हो।
संसदमा सोमबारदेखि बजेटका सिद्धान्त तथा प्राथमिकता (प्रि–बजेट) माथि छलफल सुरु हुने भएको संसद सचिवालयले जनाएको छ। सोमबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म प्रि–बजेटमाथि छलफल गर्ने र २७ गते अर्थमन्त्री डा. महतले जवाफ दिने कार्यक्रम तय भएको छ। प्रतिनिधि सभाको बजेट अधिवेशन सुरु भएको पहिलो दिन आइतबार अर्थमन्त्री महतले बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्नुभएको थियो। सोमबारदेखि त्यसैमा छलफल हुन लागेको हो।
प्रि–बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नका जवाफ अर्थमन्त्रीले दिइसकेपछि सरकारको नीति तथा कार्यक्रम आउने छ। त्यसपछि आगामी जेठ १५ गते बजेट प्रस्तुत हुनेछ। सरकारले आगामी वर्षका लागि आर्थिक गतिविधि चलायनमान गराउँदै फराकिलो र दिगो आर्थिक वृद्धि हासिल गर्ने गरी बजेट ल्याउने तयारी गरेको छ। त्यस्तै, राष्ट्रिय सभाको बैठक पनि सोमबार बिहान १० बजे बस्ने भएको छ।

