काठमाडौं। पाकिस्तानमा पूर्व विदेशमन्त्री एवं पाकिस्तान तहरिक–ए–इन्साफ दलका नेता शाह महमूद कुरैशी पक्राउ परेका छन्। कुरैशीलाई प्रहरीले बुधबार पक्राउ गरेको बीबीसीले जनाएको छ। पाकिस्तानले इमरान खानका पार्टीका अन्य नेतालाई धमाधम पक्राउ गरिरहेको छ।
पक्राउ पर्नु अघि कुरैशीले रेकर्ड गरिएको भिडियोमा भने, ‘मलाई पक्राउ गर्न प्रहरी आइसकेको छ। म एक सन्देश दिन चाहन्छु। यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र हामी यसमा संलग्न हुनुपर्छ। आज इमरान खान हिरासतमा छन्। यसले उनको ज्यानलाई खतरा छ।’
उनले समर्थकहरूलाई खान रिहा नभएसम्म आन्दोलन नरोक्न पनि भनेको बीबीसीमा उल्लेख छ। खान पक्राउ परेपछि देशभर हिंसा भड्किएको छ। देशभर पीटीआईका कार्यकर्ता प्रदर्शन र आगजनीमा उत्रिएका छन्।