धनुषा। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्व सरकार पुनः गठन हुनुपर्ने माग गरेका छन्।
जनकपुरधाम विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले गठबन्धनको मर्मअनुसार अन्य प्रदेशमा सरकारको नेतृत्व परिवर्तन भए सरह नै मधेश प्रदेशमा पनि सरकारको नेतृत्व र स्वरूप परिमार्जन हुनुपर्ने बताए।
अध्यक्ष ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्वमा लोसपाको समेत दाबी रहने बताए। गठबन्धनको मर्मअनुसार मधेश सरकारको नेतृत्वमा अव लोसपाकै पालो हुनुपर्ने उनको भनाइ छ।
उपनिर्वाचन अगाडि नै मधेश प्रदेशको सरकारका विषयमा दलबीच सहमति भइसकेको भन्दै अध्यक्ष ठाकुरले त्यसैअनुसार मधेश सरकार परिवर्तन हुने दाबी गरे। उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन भइरहेकाले सबैले सहयोग गर्नुपर्ने समेत बताएका छन्।

