काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीको ज्ञापन पत्र बुझ्दै उनले दोषीले छुट नपाओस् र निर्दोष नपरोस् भन्नेमा सरकार स्पष्ट रहेको बताएका हुन्।
प्रधानमन्त्री प्रचण्डले उक्त प्रकरणमा भइरहेको छानबिनमा कुनै प्रभाव र दबाब पर्न नदिने प्रतिबद्धता पनि जनाए। उनले वर्तमान सरकार सुशासन, समृद्धि र संविधानको कार्यान्वयनमा पूर्ण प्रतिबद्धताका साथ लागिपरेको उल्लेख गर्दै कुनै पनि प्रभाव र दबाबलाई स्वीकार नगर्ने र पछि पनि नहट्ने बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ सालपछिका राजनीतिक नेतृत्व र कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत माग समेटिएको ज्ञापन पत्र प्रधानमन्त्री प्रचण्डलाई बुझाएका थिए। ज्ञापन पत्र बुझाएपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानबिनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताए।
प्रधानमन्त्रीले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि यो महत्त्वपूर्ण अवसर रहेको भन्दै कुनै पनि कमी कमजोरी हुन नदिने बताएको उनले जानकारी दिए।

