काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रमाणविना कसैलाई दोषी भन्न नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सामाजिक सञ्जाल र मिडियामा ‘ट्रायल’ गरिएको बताए।
अर्थमन्त्री समेत रहेका डा. महतले ‘ट्रायल’ गरेर दोषी भन्न नमिल्नेमा जोड दिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टी नेत्री एवं सांसद आरजु राणाको भन्दै बाहिरिएको अडियो झुटो भएको आफूहरूको विश्वास रहेको उनले बताए। उक्त अडियोलाई प्रमाणित गर्न राणाले नै प्रहरीमा उजुरी दिइसकेको उनले उल्लेख गरे।
“उहाँ (आरजु राणा)को केसमा उहाँले प्रमाणित होस् भनेर उजुरी गर्नुभएको छ। ट्रायल गरेर दोषी हो भनेर भन्न भएन,” उनले भने, “यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अडियो झुटो हो भनेर विश्वास छ ।”

