अदालतको फैसला स्वीकार्नुको विकल्प नभएको रेशम चौधरीको भनाइ

काठमाडौं। टीकापुर घटनाका आरोपी तथा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले सर्वोच्च अदालतको फैसला स्वीकार्नुको विकल्प नभएको बताएका छन्। आज बुधवार एक विज्ञप्ति जारी गर्दै चौधरीले आफूमाथिको जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको फैसला न्यायिक नभए पनि स्वीकार्नुको विकल्प नभएको बताएका हुन्।

मंगलबार सर्वोच्चले चौधरीलाई जन्मकैद गर्ने उच्च अदालत, दिपायलको फैसला सदर गरेको थियो। उनले विज्ञप्तिमा भनेका छन् –‘मिति २०८० ज्येष्ठ २ गते सम्माननीय सर्वोच्च सर्वोच्च अदालतले गरेको फैसलामा म प्रति न्यायिक नहुन सक्छ, तर त्यसो भन्दैमा स्वीकार्नुको विकल्प हुन्न ।’ उनले आफूलाई अझै सर्वोच्च न्यायालयप्रति भरोसा रहेको र सबैलाई सम्मानित सर्वोच्च अदालतको सम्मान गर्न पनि अनुरोध गरेका छन्।

चौधरीले भनेका छन्–‘हामी सम्मानित अदालतलाई सदा सम्मान गर्छौँ, साथै सम्मानित अदालतलाई सबैले उत्तिकै सम्मान गर्नुपर्दछ। अहिले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभाबी सामाजिक सञ्जालमा जे पायो त्यही पोस्ट नगर्नहुन अनुरोध गर्दछु’। ’ काठमाडौंको डिल्लीबजार कारागारमा धैर्य र सहनशीलताका साथ आफूले कैद भुक्तान गरिरहेको भन्दै उनले आफू स्वस्थ रहेको र रत्तिभर मन विचलित नभएको बताएका छन्।

उनले आफूले कारागारमा ‘धरातल’ नामको पुस्तक लेखिरहेको र छिट्टै सबै सामु साक्षात हुने पनि उल्लेख गरेका छन्। कैलालीको टिकापुरमा २०७२ भदौ ७ गते भएको थरुहट आन्दोलनमा आठ जना सुरक्षाकर्मी र एक नाबालकको ज्यान गएको थियो। थरुहट तथा थारुवान आन्दोलनकारीले प्रहरीसँगको झडपपछि घरेलु हतियार प्रयोग गरेर उनीहरुको हत्या गरेका थिए। त्यो घटनाको मुख्य दोषी रेशम चौधरी भएको आरोप छ।

प्रतिक्रिया

सम्बन्धित खवर