अरुण तेस्रो प्रसारण लाइनका लागि ५९७ टावर निर्माण हुने

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन सात जिल्लामा निर्माण गरिने भएको छ । अरुण तेस्रो आयोजनाले प्रसारण लाइनका लागि सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, सिरहा, महोत्तरी र धनुषा जिल्लामा पाँच सय ९७ टावर निर्माण गर्न लागेको हो ।

आज जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा अरुण तेस्रो आयोजनाको चार सय केभी प्रसारण लाइन सङ्खुवासभाको दिदिङ हुँदै धनुषाको ढल्केबर पुर्याइने आयोजनाले जनाएको छ । विद्युत् प्रसारण लाइन आयोजनाको विद्युत्गृहस्थल चिचिला गाउँपालिकाको दिदिङ हुँदै धनुषाको ढल्केबर पुर्याइनेछ ।

प्रसारण लाइनका लागि सङ्खुवासभा ५९, भोजपुर एक सय, खोटाङ ७९, उदयपुर एक सय ४७, सिरहा २३, महोत्तरी ८७ र धनुषामा एक सय दुई वटा टावर रहने छ ।

टावर निर्माणका लागि जग्गा अधिग्रहण गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत प्रक्रिया अघि बढाइएको जनाइएको छ । प्रसारण लाइन चिचिला गाउँपालिका दिदिङ पुखुवाबाट सुरु भई डाँडागाउँ, आहाले, छ्याङकुटीहुँदै खाँदबारी नगरपालिकाको सेकाहा, मानेभञ्याङ, माथिल्लो चेवा, खोरण्डे, पिप्ले रयले बेँसीहुँदै भोजपुर पुग्ने सतलज कम्पनीको कार्यालय तुम्लिङटारले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर