गोरखामा बन्यो चेपाङ सङ्ग्रहालय

गोरखा । गोरखाको सहिद लखन गाउँपालिकामा चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि चेपाङ सङ्ग्रहालय निर्माण गरिएको छ । चेपाङ समुदायको बाहुल्यता रहेको वडा नं ४ स्थित डाँडागाउँमा लोप हुन लागको उक्त समुदायको वेषभूषा तथा कला संस्कृतिको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गरिएको वडाध्यक्ष यमबहादुर थापाले जानकारी दिए ।

आर्थिक वर्ष २०७८-७९ र २०७९-८० मा वडा कार्यालयले विनियोजन गरेर सङ्ग्रहालय निर्माणको काम सम्पन्न भएको उनले बताए । “स्थानीयले निःशुल्क उपलब्ध गराएको जग्गासहितको क्षेत्रमा सङ्ग्रहालय निर्माण गरिएको हो”, उनले भने, “उपभोक्ता समितिमार्फत निर्माण गरिएको सङ्ग्रहालय चेपाङ समुदायको संस्कृति झल्कने खालको घर निर्माण भएको छ ।”

सङ्ग्रहालयमा अल्पसङ्ख्यक चेपाङ जातिको वेषभूषा, परम्परागतरूपमा प्रयोग गर्ने सामग्री राखिने उनले बताए । “पछिल्लो समय चेपाङ समुदायले परम्परागतरूपमा प्रयोग गर्ने सामग्री लोप हुने अवस्थामा छ”, वडाध्यक्ष थापाले भने, “आगामी पुस्ताले ती सामग्री र संस्कृतिका बारेमा जान्न र बुझ्नसमेत नपाउने अवस्था भइसकेकाले त्यसको संरक्षण स्थानीयस्तरबाटै भए पनि गर्नुपर्छ भन्ने उद्देश्यले सङ्ग्रहालय निर्माण गरिएको हो ।”

सहिद गाउँपालिकाको डाँडागाउँ चेपाङ समुदायको मात्र बसोबास रहेको ठाउँ हो । “उक्त स्थानमा चेपाङको मात्र बस्ती छ, अन्य जातिको बसोबास नै छैन”, उनले भने, “ढाडेगाउँ, डाँडागाउँ, तेस्रेगाउँमा सबै चेपाङ समुदायमा बस्दै आएका छन् ।” निर्माण सम्पन्न गरिएको सङ्ग्रहालयको संरक्षणको जिम्मेवारी पनि चेपाङ समुदायलाई दिइएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर