काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले जलनका विरामीहरुलाई पनि क्यान्सर रोग सरहनै आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ। खाना पकाउने ग्याँसको जलनबाट पीडित भएपछि पहिलो पटक आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उहाँले सो माग राख्नुभएको हो।
गरिब मानिसहरु नै यसको बढि मारमा पार्ने भएकाले उनीहरुलाई पनि क्यान्सर,किड्नी रोगलाईजस्तै आर्थिक सहायता राज्यले उपलब्ध गराउनुपर्ने उहाँको तर्क थियो।सांसद भण्डारीले ग्याँस र विजुली जस्ता विषयवस्तु विद्यालय तहकै पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो।
उहाँले आफू शौभाग्यबस बाँचेर संसदमा बोल्ने अवसर पाएको उल्लेख गर्दै नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरु विश्वका कुनै पनि चिकित्सकहरु भन्दा कम नभएको पनि बताउनुभयो। उहाँले नेपालमा जलन अस्पताल सरकारले स्थापना गरे त्यो एशीयाकै सवल हुने दाबी समेत गर्नुभयो।
सांसद भण्डारीले कीर्तिपुर वर्न अस्पताल र सुष्मा मेमोरियल अस्पतालको भवन बनाउन पनि सरकारको ध्यानाकर्षण गराउनु भयो। उहाँले ग्याँसमा स्वचालित रेगुलेटर राख्नुपर्ने व्यवस्था अनिवार्य हुने गरी कानून निर्माण गर्न पनि सरकारलाई सचेत गराउनु भयो।
त्यस अवसरमा सांसद भण्डारीले आफूलाई जलनबाट बचाउन भूमिका निर्वाह गर्ने नेपाल सरकार, सांसदहरु, उपचारमा संलग्न चिकित्सक,शुभचिन्तक सबैप्रति आभार पनि व्यक्त गर्नुभयो।

