काठमाडौं।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जलनको घटनापछि पहिलोपटक संसद्मा पुग्नु भएका नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीसँग भेट गर्नुभएको छ ।
आज नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएपछि सभामुखको कार्यकक्षमा रहनु भएका भण्डारीलाई ओलीले भेट्नु भएको हो। भेटमा सांसद भण्डारीले आफूलाई स्वास्थ्यलाभको कामना गरेकोप्रति आभार व्यक्त गर्नुभयो ।
“मेरो बारेमा तपाईंले भन्नुभएको सुनेँ, गुल्मीमा पनि बोल्नुभएको सुनेँ।गुल्मीबाट पनि स्वास्थ्य लाभको कामना गर्नुभयो।थ्याङ्कयू सो मच,“ भण्डारीले ओलीसँग भन्नुभयो ।
भेटका क्रममा उहाँले आफूले आमा बितेको दुई महिनापछि मात्रै थाहा पाएको बताउनु भएको थियो।जवाफमा ओलीले भण्डारी सञ्चो भएर आएपछि आफूलाई खुसी लागेको बताउनु भयो। “तपाईं फर्केर आउनुहुन्छ भन्ने विश्वास थियो। निको भएर आएपछि भेट भयो। खुसी लागेको छ ।“

