काठमाडौं। नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष फसाउने खेल भएको भन्दै छानबिनको माग राखेर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसमक्ष ८ बुँदे ज्ञापनपत्र बुझाएको छ।
आज बिहीबार मानव तस्करीको समग्र पक्षमा नगई अपुरो अधुरो अनुसन्धान गर्ने र निर्दोष फसाउने योजनाका साथ काम भएको भन्दै युवा संघले उक्त अनुसन्धान र काम कारबाहीको छानबिन गर्न माग राखेर ८ बुँदे ज्ञापनपत्र बुझाएको हो।
ध्यानाकर्षण पत्र बुझदै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा कुनै षड्यन्त्र नभएको बताए।
यस प्रकरणमा आशंकका आधारमा कोही निर्दोष फस्ने वा सार्वजनिक जीवनमाथि आँच आउने काम गर्न नहुने र कोही दोषीले छुट्कारा पाउन नहुने उनले बताए।
उनले यस प्रकरणमा थुप्रै व्यक्तिहरूको नाम आएको र एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन नमिल्ने भएकाले अरु प्रमाणहरूको पनि खोजी गर्ने प्रक्रियामा प्रहरी रहेको जानकारी दिए। प्रहरीले आफ्नो अनुसन्धान बयान मात्रै नभइ तथ्यप्रमाणका आधारमा अनुसन्धान गरिरहेको उनको भनाइ छ। श्रेष्ठले यस प्रकरण सामान्य भ्रष्टाचारको विषयमात्रै नभए राज्य विरुद्धको अपराध भएकाले त्यही ढंगले अघि बढ्नुपर्ने जिकिर गरे।

