काठमाडौं। नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले पशुपतिनाथको मन्दिरको गजुरमा चढाइएको जलहरी सुनको हो कि पित्तलको भनी संसदमा प्रश्न उठाएका छन्। संसद बैठकमा बोल्दै सांसद दाहालले जलहरीको विषयमा संसदीय छानबिन समिति बनाउन माग गरेका हुन्।
गएको जेठ १० गते प्रतिनिधिसभा बैठकमा आफूले बोलेको विषयमा एमालेले संसद् अवरोध गरेपछि उनले त्यस्तो बतएका हु्न्। दाहालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अनेकन भ्रष्टाचार भएको आरोप लगाएका थिए।
“मैले यती, ओम्नी, पशुपतिको जलहरीको विषयमा तपाईँहरुको पालामा भएको भ्रष्टाचारका विषयमा छानबिन गर्नुपर्दैन भन्ने सन्दर्भमा त्यसो भनेको हुँ। त्यसपछि पनि मेरो एमाले सांसद्हरुसँग भेट भएको थियो। उहाँहरुले कुनै आपत्ति जनाउनुभएको थिएन,” सांसद दाहालले भने, “एकाएक संसद् अवरुद्ध भयो।”
उनले एमालेले गलत नगरेको भए किन डराएको त भन्दै प्रश्न पनि गरे। सांसद दाहालले महालेखा परीक्षकको प्रतिवेदनमा पनि उल्लेख भएको विषय आफूले उठाएको बताए।
यता, नेकपा एमालेले भने जलहरीको विषयमा दाहालले माफी माग्नुपर्ने बताएको छ। एमालेले दाहालको भनाइ असंसदीय भएको भन्दै रेकर्डबाट हटाउन माग गरेको छ। सांसद दाहालले यस विषयलाई संसदीय छानबिन समिति बनाएर निरूपण गरिनुपर्ने बताए। त्यसबेला के भएको हो भनेर केपी ओलीले जवाफ दिनुपर्ने उनले बताए।

