काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आइतबार भएका खेलमा मनाङ मर्स्याङ्दी र एनआरटी विजयी भएका छन्।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा मनाङले थ्री स्टारलाई १–० बाट पराजित गरेको हो। मनाङको जितमा खेलको ३८ औँ मिनेटमा चेतनकुमार थारूले गरेको गोल निर्णायक बन्यो।
जितसँगै मनाङले लिगमा २८ अंक बनाउँदै १० औँ स्थानमा उक्लिएको छ।
आजै भएको अर्को खेलमा न्युरोड टिम (एनआरटी)ले सातदोबाटो युथ क्लबलाई पराजित गरेको छ। च्यासल खेल मैदानमा भएको खेलमा एनआरटीले सातदोबाटोलाई २–१ गोलले हराएको हो।
एनआरटीको जितमा सनम लिम्बु र निकोलस सङले गोल गरे। सातदोबाटोका लागि शिव सुवेदीले गोल गरे। जितसँगै २९ अंकसहित एनआरटी लिगको आठौं स्थानमा उक्लिएको छ।
जारी लिगमा ३८ अंकसहित चर्च ब्वाइज शीर्ष स्थानमा छ। ३६ अंकको मच्छिन्द्र दोस्रो तथा ३४ अंकको जावलाखेल तेस्रो स्थानमा छन्।