काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ले निर्वाचन क्षेत्र विकास कार्यक्रमप्रति व्यङ्ग्य गरेका छन्। सरकारले सोमबार बजेट भाषणमार्फत सांसद विकास कोष भनेर चिनिने निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि ५/५ करोड छुट्याएको छ।
उक्त विषयलाई लिएर मेयर बालेनले सांसदहरू वडाध्यक्षको हैसियतमा आएको टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत वडा अध्यक्षकै काम गर्ने भए किन सांसद बनेको ? भनी प्रश्न गरेका छन्।
उनले लेखेका छन् ‘सांसद विकास कोष पाउनु भएपछि बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनुभयो। वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नुहुन्छ माननीय ज्यूहरू ?’
अर्थमन्त्री डा. प्रकाशशरण महतले जनताले अपेक्षा गरेका विकास निर्माणका स्थानीय आवश्यकता जनप्रतिनिधिमार्फत सम्बोधन गर्न प्रत्येक निर्वाचन क्षेत्रका लागि ५ करोड रुपैयाँ विनियोजन गर्ने गरी संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेटमा प्रस्ताव गरेका छन्। एउटा कार्यक्रमका लागि न्यूनतम १ करोड रुपैयाँ विनियोजन हुने गरी सडक, सिँचाई, खानेपानी, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुदलगायतका भौतिक पूर्वाधार निर्माणका आयोजना तथा कार्यक्रम छनोट गरिनेछ।
यो कार्यक्रमका लागि अर्थमन्त्री डा. महतले ८ अर्ब २५ करोड रुपैयाँ छुट्याएका छन्। सांसदलाई बजेट छुट्याएर बजेटका राम्रा पक्ष छायामा परेका छन्। सांसद विकास कोष ब्युँताउँदा अर्थमन्त्री डा. महतको विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ।

