इरानमा यस वर्ष ३०० भन्दा बढी व्यक्तिलाई मृत्युदण्ड

एजेन्सी। इरानले यस वर्ष ३०० भन्दा बढी व्यक्तिलाई मृत्युदण्ड दिएको छ। मे महिनामा यो सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि यो वर्ष मृत्युदण्डको सजाय पाउनेको सङ्ख्या सन् २०१५ यताकै सबैभन्दा उच्च एक अधिकारवादी समूहले बिहीबार जनाएको छ।

नर्वेस्थित इरान मानवअधिकार (आईएचआर) का अनुसार सन् २०२३ मा कम्तीमा ३०७ जनालाई मृत्युदण्ड दिइएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ७५ प्रतिशतले बढी हो।

मे महिनामा कम्तीमा १४२ जनालाई मृत्युदण्ड दिइएको थियो। यो सन् २०१५ यताकै सबैभन्दा उच्च मासिक आँकडा हो। इस्लामिक गणतन्त्र इरानमा गत महिना हरेक दिन औसतमा चार जनाभन्दा बढीलाई फाँसी दिइएको थियो।

गत सेप्टेम्बरमा सुरु भएको विरोध प्रदर्शनलाई दबाउन नेतृत्वले कदम चालिरहेका बेला इरानले जनतामा डर पैदा गर्न मृत्युदण्डको दायरा बढाएको अभियानकर्मीले आरोप लगाएका छन्।

विरोध प्रदर्शनसँग सम्बन्धित मुद्दामा सात जनालाई फाँसी दिइएको छ तर अधिकारकर्मीले विशेष गरी लागूपदार्थ र हत्याको अभियोगको आधारमा, जातीय अल्पसंख्यकलाई असमानरूपमा लक्षित गरिएको र कम जटिल प्रकृतिका मुद्दामा मृत्युदण्डको संख्या बढेको बताएका छन्।

आईएचआरका निर्देशक महमुद अमिरी-मोगद्दामले भने, ‘इस्लामिक गणतन्त्रले स्वेच्छाचारीरूपमा मृत्युदण्ड दिनुको उद्देश्य विरोध प्रदर्शन रोक्न र यसको शासन लम्ब्याउन सामाजिक डर फैलाउनु हो।’

‘यदि अन्तर्राष्ट्रिय समुदायले मृत्युदण्डको वर्तमान लहरप्रति कडा प्रतिक्रिया देखाएन भने आगामी महिनामा सयौं मानिस इरानी सत्ताधारी समूहको अत्याचारको सिकार हुनेछन्।’ यस वर्ष फाँसी दिइएकामध्ये ५९ प्रतिशत अर्थात् १८० जनालाई लागू औषधसम्बन्धी अभियोगमा मृत्युदण्ड दिइएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय