काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले व्यक्ति बदलिए मात्रै कांग्रेस बदलिने बताएका छन्। नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको आज शुक्रबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। महामन्त्री थापाले कांग्रेस बदलिनका लागि कांग्रेसभित्रका व्यक्ति बदलिनुपर्ने आवश्यकता रहेको बताए।
महामन्त्री थापाले सङ्घ, प्रदेश र स्थानीय तहमा सबैभन्दा धेरै सिट जितेको कांग्रेसले जनतामा आशालाग्दो काम गरे आगामी निर्वाचनमा अझ धेरै सिट जित्ने दाबीसमेत गरे।
‘कांग्रेसभित्रको गुठ भत्काउनुपर्छ, सदस्यता प्रणाली बदल्नुपर्छ, उम्मेदवार संसदीय समितिले होइन जनताले छान्ने व्यवस्था गर्नुपर्छ’, महामन्त्री थापाले भने। महामन्त्री थापाले टिकटका लागि पार्टी नेतृत्वतिर फर्कने अवस्थाको अन्त्य गरी जनतातिर जाने परिस्थिति पार्टीभित्र सिर्जना गर्नुपर्ने बताए। कांग्रेस बदलिए देशको परिस्थिति बदलिने उनको भनाइ थियो।
उनले श्रमजीवी पत्रकारको पक्षमा नेपाल प्रेस युनियन लाग्नुपर्ने बताए। कांग्रेसले विधिको शासन, लोकतन्त्र र प्रेस स्वतन्त्रताको बेवास्ता गरेमा खबरदारी गर्ने काम प्रेस युनियनको भएको उनको भनाइ थियो।

