काठमाडौं। अर्थमन्त्री डा.प्रकाशशरण महतले इमान्दार भएर काम गर्दा कठिन भएको बताएका छन्। मंगलबार बजेट निर्माणका क्रममा असम्बन्धित व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरेको भन्ने विषयमा जवाफ दिँदै अर्थमन्त्री महतले यस्तो बताएका छन्।
उनले अर्थमन्त्री भएर अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि इमान्दार भएर काम गरेको बताए। उनले आगामी आर्थिक वर्षको बजेट बनाउन आफूले कुनै पनि प्रभावबाट मुक्त भएर पारदर्शी ढङ्गबाट काम गरेको दाबी गरे।
अर्थमन्त्री महतले अर्थ मन्त्रालयका कर्मचारीकै रूपमा रामकृष्ण श्रेष्ठलाई करका दर टाइप गर्न दिएको बताए। अर्थमन्त्रीले श्रेष्ठले ३० वर्षदेखि यही काम गर्दै आएको जानकारी पनि दिए।
श्रेष्ठको विज्ञताको कारण अघिल्लो अर्थमन्त्रीले मन्त्रालयमा नियुक्त गरेको देखिएको बताए। उनले मेरो इमान्दारितामा एक इन्च रौँ नहल्लेको स्पष्ट पारे। उनले इमान्दारिता कायम राखेकाले स्वास्थ्य समूहहरू निजी स्वार्थ भएकाहरू पछि लागेको बताए। अनधिकृत व्यक्ति छिराएर करका दर हेरफेर गर्न पर्यो भन्ने भाष्य बनाएर नियोजित रूपमा गर्दा त्यो नै सत्य हुने ? भन्दै उनले प्रश्न गरे।
अर्थमन्त्रीले जिम्मेवारीमा बसेकाहरू सबै असत्य, झुटा र असत्य काम गर्न बसेको भन्ने कुरा हुन नसक्ने बताए। उनले कसैले लेखिदियो त्यो चाहिँ सत्यमाथि सत्य भयो भन्ने तर्क गरे। उनले जिम्मेवारी लिएर कसम खाएर संसद्को रोष्टममा उभिएर जवाफ दिएको भन्दै आफ्नो इमान्दारितामाथि शंका नगर्न आग्रह गरे।
त्यस्तै, अर्थमन्त्री डा. महतले करको दर हेरफेरबारे आफूहरूले नै निर्णय गरेको बताए। उनले निर्णय भएको इन्ट्री गर्न भने पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई सहयोगीका रूपमा लिएको स्वीकार गरे। उनले करको दर हेरफेरबारे आफूसहितका आधिकारिक व्यक्तिहरूले निर्णय गरेको दाबी गरे। उनले निर्णय गरिसकेपछि निर्णय प्रक्रियामा बसेका पदाधिकारीको उपस्थिति र निर्देशनमा इन्टर गर्ने काम मात्र भएको बताए।

