काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख रहेको बताएका छन्। समाजवादउन्मूख अर्थतन्त्र निर्माण गर्ने कुराभन्दा पनि बजेटमा अकर्मण्यता र शिथिलता मात्रै रहेको उनको भनाइ थियो।
मंगलबार प्रतिनिधिसभा बैठकमा उनले बजेटमा मुलुकको अर्थतन्त्रलाई सुदृढ गर्ने कुनै पनि भिजन नभएको दाबीसमेत गरे। उनले भने, ‘यसमा भिजनहिनता छ। यसले देख्दैन परसम्म। चिलको जस्तो आँखा हुनुपर्नेमा लाटोकोशेराको जस्तो छ बजेटको। यसले देख्दैन, भिजन छैन। पोलिसी छैन। त्यसकारण यसमा अकर्मण्यता छ। र, शिथिलता छ।’
अध्यक्ष ओलीले बजेट संसदबाट मात्र नभएर व्यवहारमा पनि पास हुनुपर्ने बताए। बहुमतको बलमा संसदबाट बजेट पास भए पनि व्यवहार पास हुने/नहुने आफूहरूले हेर्ने उनले बताए। ओलीले बजेटले लिएको लक्ष्य पूरा नहुने जिकिर पनि गरे।
उनले सरकारको करका दर हेर्दा व्यापारीको अनुहार देखिने टिप्पणी पनि गरे। निश्चित व्यापारी घरानालाई पोस्ने गरी सरकारले करकार दर हेरफेर गरेको भन्दै उनले उक्त कुरा बताए। ‘करका दर हेर्दा व्यापारीको अनुहार देखिन्छ,’ ओलीले भने, ‘पारिपट्टी (भारतमा) मोटरसाइकल किन्छ, फुकालफाकल गर्छ, अनि पार्टस् भनेर भित्र्याउँछ। करका दर हेर्दा अनि व्यापारी देखिँदैन ?’
उनले आफूहरूले करका दरहरूसँग व्यापारीका अनुहार खोज्ने बताए। आफूहरूले अर्थमन्त्रीको विरोध गरेको नभई देशको बेहाल अर्थतन्त्रबारे चिन्ता गरेको ओलीको भनाइ छ। आफूहरूले जिम्मेवार तरिकाले देशका लागि आफ्ना कुराहरू राखेको उनको भनाई थियो।
सम्बन्धित समाचार

