काठमाडौं। नेकपा एमालेका सांसद एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले बजेटले मुलुकको विद्यमान आर्थिक अवस्थालाई बेवास्ता गरेको बताएका छन्। प्रतिनिधिसभा आजको बैठकमा उनले बजेका सिद्धान्त, प्राथमिकता, नीति र कार्यक्रमको बीचमा कुनै पनि प्रकारको संगति र तदारुकता नदेखिएको बताए।
उनले नीति तथा कार्यक्रममा उल्लेख गरिएका विषयमा बजेट व्यवस्था नै नभएको बताए। ‘नीति तथा कार्यक्रम एकातिर, सिद्धान्त र प्राथमिकता अर्कोतिर र बजेट अझै अर्कोतिर फर्केर आएको छ। यिनीहरूबीचमा कुनै तादम्मेता छैन,’ उनले भने,’सिद्धान्त र प्राथमिकता ,नीति तथा कार्यक्रम र बजेट एक अर्कासँग अन्तर सम्बन्धित हुनुपर्ने हो।’
नीति तथा कार्यक्रममा उल्लेख गरिएका कयौं कार्यक्रम र योजनालाई बजेटले बेवास्ता गरेको उनको भनाइ छ। कतिपय योजनाहरूको कार्यक्रममा बजेट विनियोजन हुनु त परको कुरा तिनका बारेमा स्मरण समेत नगरिएको भन्दै उनले आपत्ति जनाए। पौडेलले हिउँदमा ३० युनिट र वर्षा याममा ५० युनिटसम्म विद्युत् निःशुल्क उपलब्ध गराउने नीति तथा कार्यक्रमको घोषणालाई बजेटले अस्वीकार गरेको स्मरण गराए। यस्तै गेटा कलेजलाई दशरथचन्द्र मेडिकल विश्वविद्यालय बनाउने नीति तथा कार्यक्रममा राखिए पनि बजेट भने नदिइएको बताए।
पौडेलले भने, ‘यसरी सिद्धान्त र प्राथमिकतासँग, नीति कार्यक्रमसँग बजेट अन्तरसम्बन्ध हुँदैन भने नीति तथा कार्यक्रम प्रस्तुत गर्ने धर्म निर्वाह किन गर्नुपर्यो ? यो बजेटले मुलुकको अर्थतन्त्रलाई चिन्न पनि सकेको छैन र मुलुकको निम्ति कुनै दृष्टिकोण पनि दिन सकेको छैन। बजेटले मुलुकमा विद्यमान आर्थिक अवस्थालाई बेवास्ता गरेको छ। अर्थतन्त्रका समस्या र चुनौती ठिक ढङ्गले पहिचान गर्न समाधानका उपायहरू अघि सार्न सकेको छैन।’

