काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले बुधबार सर्वोच्च अदालत अगाडि प्रदर्शन गरेको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका दोषीलाई कारबाहीको माग राख्दै विद्यार्थी नेताहरूले प्रदर्शन गरेका हुन्।
प्रदर्शनको क्रममा केही नेता, कार्यकर्ता पक्राउ परेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको अदालतमा थुनछेक बहस भइरहँदा विप्लव कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए। प्रदर्शनमा उत्रिएपछि प्रहरीले रोक्न खोज्दा दुवै पक्षबीच धकेलाधकेल समेत भएको थियो।
प्रदर्शनकारीहरूले ‘देशद्रोहीहरूको पक्षमा वकालत गर्ने पाइँदैन’ भन्दै उक्त प्रकरणमा संलग्नहरूका अधिवक्ताविरुद्ध नाराबाजी गरेका थिए। मुद्दा चलिरहँदा त्यसलाई प्रभावित पार्ने गरी प्रदर्शन गर्न नपाइने भन्दै उनीहरूलाई हटाउने प्रयास गरेको थियो। सो क्रममा प्रहरीले अनेरास्ववियु क्रान्तिकारी अध्यक्ष प्रकाशशाही लगायतलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबार लगेको छ।

