दैलेख। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रलाई गति दिनुपर्छ भनेर आफू लागिपरेको बताएका छन्।
कुल शिरोमणि दासु स्मृति तथा अनुसन्धान प्रतिष्ठानले दाहाल बन्धुको उद्गमस्थल दुल्लुको दहमा आज आयोजना गरेको कार्यक्रममा उनले सुशासन कायम गर्न र भ्रष्टाचार हुन नदिन आफ्नो ध्यान केन्द्रित भएको बताए।
आफ्नो भारत भ्रमण मुलुकको आर्थिक समुन्नतिका लागि सफल भएको उनको भनाइ छ। प्रधानमन्त्री प्रचण्डले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने भारतको योजनाबाट नेपालले लाभ लिने बताए।
दैलेख विभिन्न जातजातिको ऐतिहासिक थलो भएको उल्लेख गर्दै उनले दैलेखमा धेरै जातजातिका पुर्खाको बसोबास रहेको इतिहास पाइएको बताए। प्रधानमन्त्री प्रचण्डले यहाँको आर्थिक, सामाजिक, शैक्षिक विकास गर्नसके विश्व मानचित्रमा दैलेखको पहिचान देखिने बताए।
आफूलाई सानोमा दाहाल बन्धुको पुर्खाहरू दैलेखबाट आएको भन्दा कौतूहल लाग्ने गरेको उनले स्मरण गरे। ‘दाहालहरूको उद्गम थलो पश्चिमको दैलेख भन्ने गर्थे, त्यतिबेला मलाई कौतूहल लाग्थ्यो, अहिले पुर्खाको थलोमा आइपुग्दा मलाई गर्व लागेको छ,’ उनले भने।
उनले भाइबन्धुको एकतासँगै सिङ्गो राष्ट्रको एकता गर्ने आफ्नो पहिल्यैदेखिको सपना भएको बताए। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले दासुको पहिलो सालिक अनावरण गरेका थिए। -रासस

