काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा ठूलो धनजनको क्षति भएकोमा दुःख व्यक्त गर्दै बाढी पहिरोमा परी बेपत्ता भएका नागरिकको खोजी, उद्धार कार्य र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको बताएका छन्।
आज बिहान ताप्लेजुङ र पाँचथरका राजनीतिक दल र जनप्रतिनिधिको टोलीसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री प्रचण्डले प्राकृतिक प्रकोपको खतरा अहिले पनि विद्यमान रहेकाले सरकारले राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने बताएका छन्।
भेटमा ताप्लेजुङ र पाँचथरका राजनीतिक दलका नेता र जनप्रतिनिधिले ताप्लेजुङ, पाँचथर र सङ्खुवासभामा बाढी पहिरोबाट ठूलो धनजनको क्षति भएको जानकारी गराउँदै तत्कालका लागि टेन्ट, खाद्यवस्तु, भाडाकुँडा र लत्ताकपडा उपलब्ध गराउन, सडक र पुल भत्किएका ठाउँमा तत्काल वैकल्पिक कनेक्टिभिटी जोड्न सरकारको ध्यानाकर्षण गराएका थिए।
भेटमा प्रधानमन्त्री प्रचण्डले क्षतिको सम्पूर्ण विवरणबारे आफू जानकार रहेको र खोजी कार्य, उद्धार र राहतमा सम्पूर्ण राज्यसंयन्त्र परिचालन गर्न पहल लिइरहेको बताउँदै कनेक्टिभिटी टुटेको स्थानमा युद्धस्तरमा बेलिब्रिज निर्माण गर्न निर्देशन दिइसकेको बताए।
तत्काल पहलकदमी लिन गृह, रक्षा र भौतिक मन्त्रालयलाई निर्देशित गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले खाद्यान्न, आवास र स्वास्थ्य सम्बन्धी आवश्यक सामग्री तत्काल पठाउने पनि बताए। भेटमा पूर्वमन्त्री एवं नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराई, पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ, सांसद लिला बखिन, नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्रीलगायतका नेता एवं जनप्रतिनिधि उपस्थित थिए।

