काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं जिल्ला अदालत परिसरमा सोमबार होहल्ला गरेको आरोपमा चलाउनेलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए।
चलाउनेलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। आफूमाथि भएको सांघातिक हमलाका अभियुक्तहरू विरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध धर्ना दिन उनी अदालत पुगेका थिए। आक्रमणमा संलग्न भएकाहरूमाथि ज्यान मार्ने उद्योगको मुद्दा अदालतमा विचाराधीन थियो।
समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि २०७७ असोज २० गते नेविसंघका कार्यकर्ताले सांघातिक आक्रमण गरेका थिए। त्रिवि नेविसंघ अध्यक्ष हरि आचार्यको समूहले चलाउनेमाथि आक्रमण गरेको थियो। आचार्यसहित ५ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा रहेको थियो। मुद्दाको अन्तिम सुनुवाइ मंगलबारका लागि तोकिएको थियो।
तर, त्यसअघि नै सरकारले नेविसंघका कार्यकर्ताविरुद्धको मुद्दा फिर्ता लिने निर्णय गरेको छ। सरकारको निर्णयसँगै चलाउनेले आमरण अनसन बस्ने चेतावनी दिएका थिए। यति बेला सर्वोच्च अगाडि नाराबाजी चलिरहेको छ।

