काठमाडौं। चार कम्युनिस्ट घटकहरूले सोमबार राष्ट्रिय सभागृहबाट समाजवादी मोर्चा नेपालको घोषणा गरेका छन्। नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेकपा कम्युनिस्ट पार्टी मिलेर समाजवादी मोर्चा घोषणा गरिएको हो।
राजनीतिक स्थिरताका लागि पार्टी एकतासम्मको उद्देश्य राखेर चार दलका शीर्ष नेताहरुले सहमति पत्रमा हस्ताक्षर गरी समाजवादी मोर्चा घोषणा गरेका हुन्। राष्ट्रिय सभा गृहमा भएको घोषणा सभामा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले समाजवादी मोर्चा नेपालको सहमति पत्रमा संयुक्त हस्ताक्षर गरेका छन्।
मोर्चाका सदस्यहरूले साझा नीति नीति, कार्यक्रम र उद्देश्यका आधारमा काम कारबाही गर्ने सहमति पत्रमा उल्लेख छ। समझदारी पत्रमा मोचाका १५ वटा उद्देश्य, नीति तथा प्रतिबद्धता उल्लेख गरिएको छ। सरकारमा देखिएको अस्थिरता रोक्न र सबैलाई एकीकृत गरेर अगाडि बढ्न सहज होस् भनेर मोर्चा गठन गरिएको नेताहरूले बताएका छन्।
मोर्चा सञ्चालन गर्न तत्कालका लागि दुई तहको संरचना बनाउने तयारी छ। शीर्ष नेताहरू रहने संयोजन समिति र प्रत्येक राजनीतिक दलबाट प्रतिनिधित्व हुने गरी सचिवालय गठनको तयारी छ। प्रतिनिधिसभामा समाजवादी मोर्चाका ५४ सांसद हुनेछन्, जसमा माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन्। मोर्चामा समान विचार भएका अन्य दल थपिने बाटो खुला राखिएकाले संख्या बढ्न सक्ने नेताहरूले बताएका छन्।

