मेलवर्न । नेपाली संघ भिक्टोरियाले आयोजित तेस्रो बहुसांस्कृतिक सकर प्रतियोगिताको उपाधि रोयल वेस्टर्न क्लबले हात पारेको छ । क्लबले हिमालयन टाइगर्स एफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो ।
त्यस्तै व्यक्तिगत विधातर्फ प्रतियोगिताको उत्कृष्ट गोलरक्षक रोयल वेस्टर्नका रोहित कार्की बन्न सफल भएका छन् भने समान ४–४ गोल गरेका रोयल वेस्टर्नका रबी थिंग, हिमालयन टाईगर्सका सिर्जन भण्डारी र सुडान एफसीका अब्दुला हमाद संयुक्त रुपमा सर्वाधिक गोलकर्ताको उपाधि जित्न सफल भएका छन् ।
त्यसैगरी प्रतियोगिताको अनुशासित टिम थण्डर ड्रेगन एफसी चुनिएको थियो भने विजेता टोली रोयल वेस्टर्नका अमिर श्रेष्ठले प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडीको उपाधि प्राप्त गर्न सफल भए । रोहित कार्कीले उत्कृष्ट गोलकिपिङ क्षमता प्रदर्शन गरे ।
खेलाडीहरुलाई न्याभका अध्यक्ष प्रेमराज उप्रेती, वेस्टर्न मेट्रोपोलिटनका सांसद तथा बहुसाँस्कृतिक मामिलाका छाँया संसदीय सचिव, ट्रुङ लुउ, भिक्टोरियन बहुसांस्कृतिक आयोगका उपाध्यक्ष बिवे थाय, आरडब्लूसीका उपाध्यक्ष रोशन दाहालले संयुक्त रुपमा अवार्ड, ट्रफी र प्रमाण पत्र प्रदान गर्दै सम्मान गरेका थिए ।
उक्त अवसरमा आरडब्लू सीका उपाध्यक्ष निर्मला शर्मा, अष्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रका अध्यक्ष गान्धी भट्टराई, ब्राइटन कलेजका मेलवर्न क्याम्पस म्यानेजर अमरराज आचार्य, एक्सपर्ट एजुकेशनका डाइरेक्टर बसन्त पोखरेल, समाजसेवी मणि रतन सापकोटा लगायतको उपस्थिती रहेको थियो ।
न्याभका सचिव माधव खरेलले सञ्चालन गरेको प्रतियोगिताको संयोजन दीप चन्द, ससेन्द्र केसी, दीपेन्द्र खड्का र बिरोध थेङले गरेका थिए ।
तेस्रो न्याभ बहुसांस्कृतिक सकर प्रतियोगितामा धेरै रोमाञ्चक खेलहरू र रोमाञ्चक प्रदर्शनका साथ अद्भुत प्रतिभाहरू प्रदर्शित भएको न्याभ अध्यक्ष उप्रेतीले जनाए ।
ब्राइटन कलेजको मुख्य प्रायोजन तथा एक्सपर्ट एकजुकेशन एन्ड भिजाको सहप्रायोजनमा आयोजित उक्त प्रतियोगितामा नेपाली समुदायका ६ र अन्य समुदायका ६ वटा गरी १२ टोलीको सहभागिता रहेको थियो ।
आतिथ्यता पार्टनरमा काठमाण्डौ बैंक्वेट, ट्राभल पार्टनर बुद्ध ट्राभल एण्ड टुर्स रहेको थियो भने गोल्ड प्रायोजकहरूमा लेन्डभाइजर्स फाइनान्स, क्यापकोन, इन्द्रेनी ग्लेनरोय, सुत्र सर्भिसेस, नारायण पुरोहित सेवा, एडब्ल्यूटीआई मेलबर्न लगायतले प्रतियोगितालाई सहयोग गरेका थिए ।
उक्त सकर प्रतियोगिता मार्फत यहाँ रहेको बहुसांस्कृतिक समुदायहरू बीच शान्ति सद्भाव र एकता प्रवर्द्धन गर्न भूमिका पुगेको न्याभले विश्वास लिएको छ ।
केही तस्वीरहरु: