काभ्रेपलाञ्चोक। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले योगमार्फत प्राकृतिक चिकित्सा पद्धति अंगाल्नुपर्ने सुझाव दिएका छन्। पनौतीमा आज आयोजित एक कार्यक्रममा उनले उपचार महंगो बन्दै गएकोले प्राकृतिक चिकित्सा पद्धति अंगाल्नतिर ध्यान दिनुपर्ने बताएका हुन्।
‘अस्पतालमा उपचार जुनसुकै हिसाबले महँगो हुन थाल्यो, अब नेपालीको आयस्रोतले धान्न सक्ने अवस्था छैन, सकेसम्म उपचार गर्न नपरोस् भनेर उपचार विधिमा भन्दा पनि रोकथाम विधिमा जोड दिनुपर्छ। अब योगमार्फत प्राकृतिक चिकित्सा पद्धति अंगाल्नुपर्छ,’ मन्त्री बस्नेतले भने।
उनले प्राकृतिक चिकित्सा शास्त्रले रोकथामको विधिलाई मद्दत गर्ने भएकाले सम्पूर्ण नेपालीलाई यसतर्फ ध्यान दिन आग्रह गरे। मन्त्री बस्नेतले आयुर्वेदको भण्डारमा बसेको तर यस क्षेत्रमा विकास गर्न नसकिएको भन्दै कस्तुरीले आफ्नै नाभीको बिना थाहा नपाएर बास्नाको खोजीमा भौँतारिए जस्तो भएको बताए।
उनले भने, ‘स्वास्थ्यको पहिलो शर्त आफू निरोगी हुनुपर्छ, जोसुकैले दिनको एक घण्टा स्वास्थ्यका लागि छुट्याउनुपर्छ, म पनि दैनिक एक घण्टा नियमित व्याम गर्छु, योगले नै सुर्तीजन्य पदार्थ खान हुन्न भन्ने सिकाउँछ, योगका लागि समय मात्रै दिए पुग्छ।’
मन्त्री बस्नेतले अस्पतालहरूले दश प्रतिशतलाई निःशुल्क उपचार प्रदान गर्ने व्यवस्था अनुगमन गरिरहेको बताए। उनले धुलिखेलमा काठमाडौं विश्वविद्यालय र धुलिखेल अस्पतालका कारण बौद्धिक व्यक्तित्वको लस्कर देखिँदा खुसी लाग्ने गरेको स्मरण गर्दै धुलिखेल अस्पतालमा ट्रमा सेन्टर बनाउने योजना बनाइने बताए।

