काठमाडौं। नेपाली काँग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले क्रिकेट खेल मैदानका लागि आवश्यक बजेटको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा उनले देशलाई पहिचान दिने खेल क्षेत्रको विकासका लागि खेल मैदान बनाउने कुरामा खुलेर अघि बढ्न सक्नुपर्ने बताए।
उनले वर्षौंदेखि एउटा क्रिकेट मैदान बन्न नसकेको उल्लेख गरे। ‘क्रिकेट ग्राउण्ड त बनाइ देऊ। कति वर्षसम्म एउटा ग्राउन्ड बनाउँदैछौं भन्छौं। एकैचोटी बनाइ दिऊ न,’ उनले भने, ‘बजेट छुट्ट्याइ दिऊ न तिनका लागि। जसले तिमीलाई पहिचान दिएको छ। हामीले यो कुरालाई बुझ्नुपर्छ।’
नेपालको अग्रगतिका लागि खेलकुद विश्वविद्यालय, माउन्टेनसम्बन्धी विश्वविद्यालय बनाउन आवश्यक रहेको भण्डारीको भनाइ छ। बुद्धको जन्मस्थल लुम्बिनीमा हजारौँ बेडको अस्पताल बनाउन सके विश्वभरका बौद्धमार्गीहरू बच्चा जन्माउनका लागि नेपाल आउने सम्भावनातर्फ पनि भण्डारीले सरकारको ध्यानाकर्षण गराए।