आइसिसी विश्वकप क्रिकेट छनोटमा वेस्ट इन्डिजसित खेल्दै नेपाल

काठमाडौं। आइसिसी एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल वेस्ट इन्डिजसित खेल्दैछ। उक्त खेल जिम्बावेको राजधानी हरारेस्थित खेल मैदानमा मध्याह्न पौने एक बजे सुरु हुनेछ।

नेपाल यसअघि पहिलो खेलमा घरेलु टोली जिम्बावेसित पराजित भएको थियो। दोस्रो खेलमा नेपालले अमेरिकालाई पराजित गरेको थियो। नेपालले दुई पटकको एक दिवसीय विश्वकप विजेता वेस्ट इन्डिजसित पहिलो पटक खेल्न लागेको हो। नेपालले समूह चरणको अन्तिम खेल नेदरल्यान्डसँग यही असार नौ गते खेल्नेछ।

जारी छनोट प्रतियोगितामा १० टोली सहभागी छन्। समूह ‘ए’ मा नेपाल, नेदरल्यान्ड्स, अमेरिका, जिम्बावे र वेस्ट इन्डिज तथा समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, ओमान, युनाइटेड अरब इमिरेटस् (युएई) र स्कटल्यान्ड रहेका छन्। दुवै समूहबाट शीर्ष तीन/तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्सका शीर्ष दुई टोलीले भारतमा आयोजना हुने विश्वकप क्रिकेटका लागि स्थान बनाउने छन्।

आजै अर्को खेलमा अमेरिका र नेदरल्यान्ड्स भिड्ने छन्। उक्त खेल पनि मध्याह्न पौने एक बजे सुरु हुने छ। नेदरल्यान्डले पहिलो खेलमा जिम्बावेसँग हार व्यहोरेको थियो। अमेरिका भने पहिलो खेलमा वेस्ट इन्डिज र दोस्रो खेलमा नेपालसँग पराजित भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय