काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा आज सोमबार दुई खेल हुदैछ । प्रतियोगिताको नवौं दिन समूह ए का दुई खेलहरु हुदैछ । प्रतियोगिताको १७ औं खेलमा जिम्बावे र अमेरिका खेल्दैछन् । यस खेल हरारे स्पोर्टस् क्लबमा हुनेछ ।
लगातार तीन खेलमा जित सहित सुपर सिक्समा पुगेको जिम्बावे यस खेलमा जितका साथ अपराजित रुपमा दोस्रो चरणमा पुग्न चाहन्छ । पहिलो खेलमा नेपाल, दोस्रो खेलमा नेदरल्यान्ड्स र तेस्रो खेलमा वेस्ट इन्डिजलाई पराजित गरेको थियो ।
उता, सुरुआती तीन खेलमा हार व्यहोरेको अमेरिका सान्त्वना जितको खोजीमा रहेको छ । लगातार तीन खेलमा हार व्यहोर्दै अमेरिकाले प्लेअफमा स्थान बनाईसकेको छ ।
अर्को खेलमा भने नेदरल्यान्ड्स वेस्ट इन्डिजसँग खेल्दै छ । उक्त खेल जिम्बावेको टाकासिंगा स्पोर्टस् क्लबमा हुनेछ । सुपर सिक्समा स्थान बनाईसकेका दुवै टोली २ अतिरिक्त अंकका साथ समूह चरणको खेल समाप्त गर्न चाहन्छन् ।
दुवै खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ ।