काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३ दशमलव ७० अंकले ओरालो लागेर दुई हजार ९७ दशमलव २९ मा सीमित भएको छ।
ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२ दशमलव २३ अंकले ओरालो लागेर तीन सय ९० दशमलव ५२ मा सीमित भएको छ। कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ। कूल एक करोड १३ लाख २३ हजार एक सय ८३ कित्ता शेयर पाँच अर्ब आठ करोड १९ लाख ७६ हजार एक सय ७९ बराबरको कारोबार भएको छ।
नेप्सेका अनुसार, कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ। सो कम्पनीको ४२ करोड ५६ लाख ५४ हजार सात सय सात बराबरको कारोबार भएको छ। शिवम् सिमेन्ट २७ करोड ५५ लाख ९६ हजार चार सय २७, सोल्टी होटल २० करोड ८६ लाख ५० हजार तीन सय १६, सूर्यज्योति लाइफ इन्स्योरेन्स १६ करोड ६७ लाख ५७ हजार दुई सय ९२ र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १४ करोड ६८ लाख ८१ हजार आठ सय ६७ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन्।

