काठमाडौं। अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले स्वदेशभित्रको उत्पादनकर्ता साना किसानलाई प्रोत्साहन गर्दै विदेशबाट तरकारी र फलफूल आयात कम गरिने बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक विधेयक, २०८० माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले डा. महतले मुलुकका किसानले उत्पादनको उचित मूल्य नपाएको र बिचौलियाको चलखेल भएको सम्बन्धमा सरकार गम्भीर भएको उल्लेख गर्दै साना किसानको उत्पादन बजारमा लैजाँदा भ्याट नलाग्ने स्पष्ट गरे।
उनले गरिब तथा साना किसानका उत्पादनलाई प्रोत्साहन गर्न तरकारी र फलफूलमा आयात कम गर्दै जाने तथा स्वदेशी उत्पादनलाई प्रश्रय दिने नीति लिएको उल्लेख गरे। मन्त्री डा महतले विभिन्न नाममा विदेश जाने नेपाली पर्यटकलाई करको प्रबन्ध गरी स्वदेशभित्रको पर्यटन वृद्धि हुने वातावरण सिर्जना गर्ने सोच बजेटमा राखिएको स्पष्ट पारे।
विपत् या भइपरी आउने अवस्थाका लागि विविध शीर्षकमा जहिले पनि राख्ने गरिए अनुसार बजेट राखिएको उनले जानकारी गराए। विद्युतीय सवारी साधनमा कर वृद्धि गरिएपछि त्यस्ता साधनमा व्यापारीले लिने लाभ कटाइ मूल्य समायोजन हुने मन्त्री डा महतले बताए।

