काठमाडौं। संसदीय समितिको सभापति छिटो चयन गर्ने तीन दलका नेताहरुबीच सहमति जुटेको छ। मंगलवार सिंहदरबारमा बसेको सभामुखसहितको शिर्ष तीन राजनीतिक दलका नेताहरुबीचको छलफलमा संसदीय समितिको नेतृत्व छिटो भन्दा छिटो चयन गर्ने सहमति भएको सभामुख देवराज घिमिरेले बताए।
उनले छलफलमा संसदीय समितिको सभापति छिटो टुंग्याउने सहमतिका साथै संसदीय गतिविधिलाई प्रभावकारी, गतिशिल, स्तरीय बनाउने बारेमा पनि छलफल भएको बताए।
उनले संसदीय समितिका सभापति चयन गर्नेकुरामा तीन दलका नेताहरु गम्भीर भएको बताए। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बैठकमा छिटो भन्दा छिटो समितिको सभापति चयन गर्ने सहमति भएको बताए।
उनले राजनीतिमा देखिएका विकृति, विसंगति, कमी कमजोरीको समाधान गर्दै लैजाने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जाने सहमति भएको पनि बताए। मन्त्री गुरुङले बैठकमा कोशी प्रदेशको नेतृत्वको बारेमा पनि छलफल भएको बताए।

