कमिसनको जालो तोड्न कसैसँग सम्झौता गरिँदैन : गृहमन्त्री

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो राजनीतिक नेतृत्वबाट संरक्षित रहेको दाबी गरेका छन्। शुक्रबार सञ्चारकर्मीहरूसँगको भेटघाटमा उनले राष्ट्रविरोधी कमिसनको जालो तोड्न कसैसँग सम्झौता नगरिने बताए।

भ्रष्टाचारविरुद्धको अभियानमा सरकारले विश्राम नलिने उनले बताए। सुशासन र संवृद्धिको अभियानका लागि कडा कदम नचाली नहुने अवस्था रहेकाले आफूले समस्या समाधान गर्न आँट गरेको उनले बताए।

‘राजनीतिक उपलब्धि भयो। देशमा राजनीतिक परिवर्तन आयो। तर त्यसअनुसार सेवा प्रवाहमा डेलिभरी भएन,’ मन्त्री श्रेष्ठले भने, ‘सुशासन र समृद्धि सर्भिस डेलिभरीमा म कस्सिएर लागेको छु। प्रधानमन्त्रीबाट पनि यो अभियानमा साथ र सहयोग छ।’

गृहमन्त्री र गृह सचिवले बेहिसाब लिँदै आएको सुराकी खर्च खारेज, नेपाली नागरिकका जैविक र वैयक्तिक विवरण समेटिएको राष्ट्रिय परिचयपत्रसम्बन्धी प्रमाणीकरण सेवा निजी कम्पनीलाई दिने ल्याइएको कार्यविधि खारेज र ठेक्का रद्द, मिटरब्याज अपराधविरुद्धको एक्सन, नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अपराधविरुद्धको कारबाही र पछिल्लो पटक प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जगा हिनामिनामा पुनः फाइल खोलेर अघि बढाएको अनुसन्धान सुशासन कायम र भ्रष्टाचारविरुद्ध सरकारले चालेका महत्त्वपूर्ण कदम भएको उनले बताए।

गृहमन्त्री श्रेष्ठले ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनामा संलग्न जुनसुकै ओहदाका भए पनि कारबाहीको दायरामा आउने बताए। सरकारको सम्पत्ति (जग्गा) हिनामिना गर्ने जोसुकै भए पनि तथ्य र प्रमाणले भ्याएसम्म सबैमाथि अनुसन्धान गरी कारबाही गर्न प्रहरीलाई स्पष्ट रूपमा निर्देशन दिइएको उनले बताए।

‘ललिता निवास परिसरको जग्गा सरकारकै हो। छानबिन र प्रहरी अनुसन्धानले त्यही भन्छ,’ गृहमन्त्री श्रेष्ठले भने, ‘यो अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउँछौं। भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सरकार निरन्तर लागिपरेको छ।’

गृहमन्त्री श्रेष्ठले प्रहरी संगठनमा रहेको विद्यमान ३० वर्षे सेवा अवधि आफ्नै कार्यकालमा हटाउने बताए। ‘प्रहरीको संगठन सुधारको लागि ३० वर्षे सेवा अवधि बाधक छ भन्ने कुरा धेरै उठ्दै आएको छ। अब त्यो हट्छ। मेरै कार्यकालमा कुनै पनि हालतमा म हटाएरै छोड्छु,’ उनले भने। त्यो बाहेक श्रेष्ठले प्रहरीको बढुवामा हुने विकृति रोक्न प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्यांकलाई वैज्ञानिक बनाइने पनि बताए।

प्रतिक्रिया

सम्बन्धित खवर